विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ । कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई खोप दिलाउन भन्दै विज्ञप्ति निकाले पनि त्यो विज्ञप्ति औपचारिकतामा मात्रै सीमित भएको विद्यार्थीको गुनासो छ ।
त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा चन्दले भनिन्, ‘कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको महिनौं बित्यो । भौतिक उपस्थितिसहित अब परीक्षा दिनुपर्ने खोप लगाएको पनि छैन ।’ दाङ घर भई काठमाडौं पढ्दै आएका नेपाल वैद्यले भने, ‘त्रिभुवन विश्वविद्यालयले परीक्षा तोकेको छ । म घरमै छु । सरकारले बन्दाबन्दी अझै खोलेको छैन भन्छ । कसरी परीक्षा दिने रु खोप त परको कुरा भयो ।’
– विद्यार्थीका हकहितभन्दा राजनीतिक एजेन्डामा केन्द्रित
– लाखौं विद्यार्थीको पठनपाठन असहज
– शैक्षिक क्यालेन्डर बिथोलियो
– खोप प्राथमिकतामा परेनन् विद्यार्थी
– परीक्षा अन्योल
अहिले केही कलेजले अनलाइन क्लासको पूर्ण शुल्क असुलेपछि विद्यार्थी कलेजमा ताला लगाउन विवश छन् । अहिले देशभरका शैक्षिक संस्था प्रायः ठप्प हुँदा लाखांै विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ । शैक्षिक क्यालेन्डर बिथोलिएको छ भने नियमित परीक्षा समयमा नहुँदा विद्यार्थीको समय खेर गएको छ । यस्तै, कतिपय विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरे पनि विद्यार्थीबाट सतप्रतिशत शुल्क असुल्दै आएका छन् ।
तर, त्यसको मापदण्ड समेत बन्न सकेको छैन । केही शैक्षिक संस्थामा वैकल्पिक सिकाइ इन्टरनेटको पहुँच नहुँदा प्रभावकारी बन्न सकेका छैनन् । काठमाडौंका कलेजमा पढ्दै आएका विद्यार्थी जिल्ला जिल्लामा छन् । उनीहरूका लागि न त सरकारले कोरोनाविरुद्ध खोपको व्यवस्था गरेको छ न त शैक्षिक गुणस्तर सुनिश्चितताको ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले विद्यार्थीका अधिकारका सवालमा राज्यका निकायलाई घचघचाइरहेका बताए । उनले भने, ‘ हामी विद्यार्थीकै हकहितका लागि लागि परेका छौं सेलाएका छैनौं । कोरोनाका कारण विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अवरुद्ध भएको छ । सबै विद्यार्थीहरूलाई जतिसक्दो चाँडो खोपको व्यवस्था हुनुपर्छ भनेर राज्यलाई दबाब पनि दिएका छौं ।’ उनले कोरोना संक्रमणको अवस्थामा विद्यार्थीको पढाइभन्दा जीवन ठूलो भएको बताए ।
अनेरास्वयूका केन्द्रीय अध्यक्ष ऐन महरले कोरोनाबाट शैक्षिक क्षेत्र आक्रान्त बनेको बताए । उनले भने, ‘ विश्वविद्यालयको परीक्षा स्थगित गरेर समस्या समाधान हुँदैन । छिटोभन्दा छिटो परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोपको व्यवस्था गरी अबका परीक्षा सञ्चालन गरिनुपर्छ ।’ उनले विद्यार्थीका अधिकार संस्थागतका लागि आफूहरू लागिपरेको बताए ।
अखिल ९क्रान्तिकारी०का नेता कुमार बर्तौलाले विद्यार्थीको हकहितमा आफूहरूले आवाज उठाइरहेका बताए । उनले भने, ‘विद्यार्थीका मुद्दाहरू उठाइरहेका छौं । तर, हामीले उठाएका मुद्दाहरू छायामा परेका छन् ।’ उनले जनस्वास्थ्यका मापदण्ड र भौतिक दूरी कायम गरेर हाल सञ्चालनमा रहेका परीक्षाहरू सञ्चालन गर्नुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।