काठमाडौं- भारी वर्षाका कारण शनिबार शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेल स्थगित भएको छ ।
लिग अन्तर्गत च्यासल मैदानमा भएको संकटा क्लब र जावलाखेल युथ क्लब तथा दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबको खेल बीचमै रोकिएको हो ।
बाँकी समयको खेल आइतबार खेलाईने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले संकटा र जाउलाखेलको बाँकी समयको खेल आइतबार एन्फा कम्प्लेक्स मैदानमा दिउँसो १:०० बजे खेलाउने जनाएको छ । संकटाविरुद्ध जावलाखेल १-० गोलले अगाडि छ ।
वर्षाका कारण खेल ५१औं मिनेटमा रोकिएको थियो। जाउलाखेलका लागि फोडे फोफानाले ३३औं मिनेटमा गोल गर्नुभएको थियो । यस्तै हिमालयन शेर्पा र आर्मीबीचको खेल स्थगित खेल आइतबार ४:३० बजे खेलाईने बताईएको छ ।
शेर्पा र आर्मीको खेल ७१औं मिनेटमा रोकिएको थियो । शर्पा र आर्मी १-१ गोलको बराबरीमा छन् । आर्मीका लागि नवयुग श्रेष्ठले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्नुभएको हो । शेर्पाका विश्वास श्रेष्ठले ५५औं मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो ।