शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए ।
बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पु¥याउँदै आएको छ ।
यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सन पुर्याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ । रासस