×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी

पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी

काठमाडाैँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन् । कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन् । 

रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धमैदानको वास्तविकता नबताइनु पनि कारण रहेको ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएका छन् । ह्वाइट हाउसले भनेको छ यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको छ । वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धमैदानमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन् । 

पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारे समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताइन् । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले यो अवस्थाको परिणाम युद्ध अन्त्य गराउने वार्ता प्रयासमा पर्न सक्ने बताए । आफ्नै सेना र आफ्नै युद्धबारे सम्पूर्ण जानकारी नहुनु भनेको असहज परिस्थिति भएको उनले बताए ।

ब्रिटिश जासुसी संस्थाका प्रमुखले रुसले युक्रेन युद्धअवस्थाबारे उसको पूर्व आकलनमा ठूलो भूल गरेको बताएका छन् । त्यहाँ रुसी सेनाको मनोबल खस्किएको, युद्ध सामग्रीको अभाव भएको तथा सेनाले आदेश पालना गर्न अटेर गरिरहेको उनले बताए । क्रेम्लिनले यी भनाइबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । -बीबीसी

प्रतिकृया दिनुहोस्