काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेष्टुरेन्ट नबन्ने बताएका छन् । बिहीबार बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । ‘नारायणहिटीभित्र बन्ने भनिएको रेष्टुरेन्ट एक दुई दिनका लागि रोकिएको होइन,’ मन्त्री आलेले भने, ‘त्यहाँ रेष्टुरेन्ट बन्दैन ।’
यसअघि नारायणहिटीभित्र बतास कम्पनीले रेष्टुरेन्ट बनाउने भनिएको थियो । तर, यसलाई मन्त्री आलेले रोकेका थिए । मन्त्री आलेले भने, ‘म जनसेवा गर्नेगरी राजनीतिमा आएको हुँ । मेरो मन्त्रालयभित्र जति पनि विकृति विसंगतिहरू छन्, त्यसलाई हटाउने लागिपर्ने छु ।’
तत्कालीन पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भने बतासलाई रेष्टुरेन्ट बनाउन दिएको भन्दै आलोचना भइरहेको बेला मन्त्री आलेले प्रशंसा पाएका हुन् । भट्टराईले पनि आफूले कुनै अनुमति नदिएको जिकिर गर्दै आएका छन् । मन्त्री आलेले भनेका छन्, ‘नारायणहिटी हाम्रो पुरानो सांस्कृति सम्पदा हो, यसको स्वरूपलाई हराइहाल्नु हुँदैन ।’