×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

कोरियाले ४ हजार मौसमी कामदार लैजाने

कोरियाले ४ हजार मौसमी कामदार लैजाने

काठमाडौं -  कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।
नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दै आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ । कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ । नेपाल कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले कोरियास्थित कानुन तथा न्याय मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ गते प्रकाशित गरेको सूचनाअनुसार कोरियामा कृषि तथा माछा पालन क्षेत्रमा खेप्दै आएको कामदार अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी कामदार माग गर्न यो वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको बताए ।


न्याय मन्त्रालयले मौसमी कामदार लैजानेबारे नेपालसहित चार देशका प्रतिनिधिसहितको छलफलमा यसबारे परिवर्तन भएको कानुनबारे औपचारिक जानकारी गराएको थियो । मौसमी कामदार आपूर्ति गर्ने देशमा प्रतिनिधिहरू श्रमिक पठाउँदा देखिने सकारात्मक र नकारात्मक पाटोका बारेमा राय संकलन गरेपछि कोरियाले यस्ता कामदार लैजाने भएको हो । नेपालबाट मौसमी कामदार लैजानेबारे कोरियाको न्याय मन्त्रालयसहित अध्यागमन विभागका निर्देशक संह्यनन्ली तथा छाङ्दो पार्कले मौसमी कामदारका बारेमा श्रमिक स्रोत देशलाई जानकारी गराइसकेका छन् । कोरियाको अध्यागमन विभागका निर्देशक छाङ्दो पार्कले यसअघि पनि मौसमी कामदार माग गर्ने गरेकोे भए पनि परिमार्जन गरिएको नियमबारे नेपाली पक्षलाई जानकारी गराएका छन् । कोरियन पक्षले विगतमा मौसमी कामदार छनोट गर्दा दलालका कारण कामदारले मोटो रकम असुली गर्ने गरेको गुनासो गर्दै आएको छ । तर नेपालबाट भने पहिलो पटक मौसमी कामदार जान लागेका हुन् ।

यसअघि मौसमी कामदारले कोरियामा तीन महिनामात्र बस्न पाउने व्यवस्था भएको कारण अवैधानिक हुने क्रम बढेका कारण हाल यसलाई पाँचदेखि ६ महिना बढाइने जनाइएको छ ।यो समाचार आजको कारोबार दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्