काठमाडौं - विपन्न वर्गका समुदायको सहजीकरणका लागी पशुपति क्षेत्र नजिकै युवाहरुको सक्रियतामा करौडौको लगानीमा बिरामी कुरुवा घर बनाइने भएको छ । विपन्न तथा असहाय परिवारको मानिसहरु काठमाडौं उपत्यकामा महंगो भाडा तिरेर बस्नुपर्दा उपचारमा पैसाको अभाव हुँदा कतिपयको ज्यान समेत गुमाउन परेको भन्दै घर बनाउन लागिएको हो । काठमाण्डौमा बिरामी परेर लामो समय अस्पतालमा उपचार गर्नुपर्ने अवस्थामा विशेषगरि उपत्यका बाहिरबाट आउनुभएका बिरामी र आफन्तजनले निकै कष्ट व्यहोर्नुपर्छ । बिरामी कुरूवाको लागि सुत्ने स्थान नहुँदा धेरैदिन अस्पतालमै बस्दा कुरूवा समेत बिरामी पर्ने अवस्था छ । त्यस्तै केही समय काठमाडौंमै बसेर फलो अपमा गईरहनुपर्ने तर घर फर्किन पनि सम्भव नहुने र यहाँ महँगो शुल्क तिरेर पनि बस्न नसक्ने दाजुभाइ-दिदिबहिनीलाई लक्षित गरि काठमाडौंको गौरीघाटमा बिरामी कुरूवाहरूलाई लक्षित गरेर कुरूवाघर निर्माण गर्दैछ । कुरूवाहरूको लागि बस्ने सुविधासहित स्नान गृह र कपडा धुने व्यवस्था समेत गरिनेछ । कुरूवा एक्लै भएको अवस्थामा आलोपालो गरिदिने कोहि नभए परिस्थितिको गम्भिरता हेरि (बिरामीको अवस्था, आफन्त र डाक्टरको सहमति तथा पुरूषलाई पुरूष स्वयंसेवक तथा महिलालाई महिला स्वयंसेविका) एकदिनको लागि कुरूवा बसेर आफन्तलाई विश्राम तथा व्यक्तिगत स्वच्छता को लागि पनि सहयोग गर्नेछौं ।
बिरामी कुरुवाको रुपमा बस्नुपरेका मानिसहरुलाई सहज बनाउने हेतुले ३ रोपनी ८ आना जग्गा भाडामा लिएर भवन बनाउन लागिएको हाम्रो टिम नेपालका बिमल पन्तले मध्यान्हलाई जानकारी दिए ।
लामो समय वैदेशिक रोजगारमा रहेर मातृभूमीलाई माया गर्नेहरु र देशमै रहेर सामाजिक भावना भएकी इशा गुरुङ (बेलायत), सुनिता गुरुङ (इजरायल), किशोर महर्जन, बिमल पन्त, बब्लु गुप्ता, भिम उपाध्याय र सपना रोक्कामगर लगायतका सहयोगी मनहरुको सहयोग रहेको र सहयोगी मनहरु थप्दै जाने पन्तले बताए ।
सो घर २ तल्लाको रहने, घरमा २४ वटा कोठा हुने,लक्षितवर्गलाई एक सहायता कक्ष र सुरक्षागार्डसहितको व्यवस्था हुनेछ भने विरामी कुरुवाहरुलाई बिहान, बेलुकी बस्नको व्यवस्थासमेत रहने पन्तले बताए । सो घर कार्तिक मसान्तसम्म सकिने उनको भनाइ छ ।