काठमाडौं- एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनल प्रवेशको नजिक पुगेको छ ।
आईतबार मलेसियामा भएको खेलमा बहराईनलाई ७ विकेटले हराउँदै नेपाल अन्तिम चार प्रवेशको नजिक पुगेको हो । समूह एमा नेपाल र साउदी अरबले सुरुआती २ खेलमा जित निकाल्दै समान ४ अंक जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।
बहराईनले दिएको ७८ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले अविजित ३२ रन बनाएका थिए ।
ओपनर दिपक बोहोरा ४, उत्तम थापा मगर शुन्य र दिपक डुम्रे १ रनमा पोविलियन फर्किएका थिए । बहराईनका एनस सैयदले तीनै विकेट लिएका थिए ।
सुरुआती ब्याटिङ गरेको बहाराइन ३७ दशमलव ५ ओभरमा ७७ रनमा अलआउट भएको थियो ।
बहराइनल मुहमद अब्दुल हाकिमीले ३४ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका दिपेश कँडेल एक्लैले ६ विकेट लिए भने दुर्गा गुप्ताले ४ विकेट चट्काए ।
नेपालले लिग चरणको अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ ।