काठमाडौँ- कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाउँदा नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियालाई ४० रनको नतिजा सुम्पिएको छ।
स्कटल्यान्डको कम्बस्डन न्यु ग्राउन्डमा नामिबियाका कप्तान गेहार्ड इरसमसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको हो।
२२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १८० रन बनाउँदा सबै विकेट गुमायो। जितसँगै नामिबिया अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल भने एक स्थान तल खस्किएको छ। नामिबिया १६ खेलबाट १६ अंक जोडेको छ । समान खेलबाट १५ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ।
२२१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले सबैभन्दा धेरै अविजित ५० रन बनाए। देव खनालले ३४ रन बनाए। ओपनर कुशल भुर्तेलले २७ रन बनाए। करण केसीले १९ रन जोडे। आसिफ शेखले १४ रन बनाए। सोमपाल कामी र आदिल अन्सारीले समान १० रन बनाए।
उपकप्तान रोहितकुमार पौडेल शून्यमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ४ रन बनाएर पवेलियन फर्किए। बासिर अहमद ३ र कप्तान सन्दीप लामिछाने शुन्यमा आउट भए।
नामिबियाका लागि बर्नार्ड स्कोल्ज, डेबिड विसे र जान फ्रेलिङ्कले समान दुई विकेट लिए। कप्तान इरसमसले एक विकेट लिए। त्यसअघि नामिबियाका लागि जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ६० रन बनाए।
उनले ६९ बलमा ५ चौका र एक छक्का प्रहार गरेका थिए। ओपनर डिबान ला ककले ४१ रन बनाए भने कप्तान इरसमसले २२ रन जोडे। अर्का ओपनर लो–हान्ड्रे औरेन्स र डेबिड विसेले समान १८ रन बनाए। जेजे स्मितले १७ रन बनाएर पवेलियन फर्किए।
नेपालका लागि कप्तान सन्दीपले १० ओभरमा ५४ रन दिएर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा करण केसी, बासिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।
योसँगै नेपालका बासिरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युलाई सुखद बनाएका थिए। उनले ७.३ ओभरमा १८ रन दिएर १ विकेट लिएका हुन्।