×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज देशभर नागपञ्चमी पर्व मनाइँदै, मूलढोकामा नागको तस्वीर टाँसेर पूजाअर्चना

काठमाडौं - वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइरहेका छन्। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक अष्टनाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) को तस्वीर टाँसी पूजाआजा गर्ने प्रचलन रहेको छ। नागको तस्वीर टाँस्दा वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र अग्नि, मेघ एवं चट्याङबाट बचावट हुने धार्मिक विश्वास छ।

वैदिक कालदेखि नै जलवृष्टिका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा रहँदै आएको छ। नागपञ्चमीका अवसरमा आज काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानहरूमा श्रद्धालुहरूको विशेष भीड लागेको छ। वैज्ञानिक दृष्टिकोणले पनि प्रकृतिमा रहेका विषालु तत्त्वहरू शोषण गरी वातावरण सन्तुलित राख्न नाग र सर्प प्रजातिको महत्त्वपूर्ण भूमिका रहने भएकाले यो पर्वको विशेष महत्त्व मानिन्छ। नागपञ्चमीसँगै नेपाली समाजमा वैदिक चाडबाडको मौसम औपचारिक रूपमा सुरु भएको मानिन्छ।

प्रतिकृया दिनुहोस्