काठमाडौं - सगरमाथामा पहिलो पटक ड्रोन डेलिभरी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण कार्य सकेको जनाएको छ ।
बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोन उडान परीक्षण गरेको जानकारी दिएको हो । योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षण सञ्चालनलाई सहजीकरण गर्ने बाटो खुलेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त परीक्षणमा डीजेआई फ्लाईकार्ट ३० (DJI FlyCart 30) मोडेलको ड्रोन प्रयोग गरिएको थियो, जसमा एक पटकमा तीन अक्सिजन बोतल र डेढ केजी तौलका अन्य सामग्रीहरू सगरमाथा आधार शिविर (५,३६४ मिटरको उचाइमा) बाट क्याम्प एक अर्थात् लगभग ६,००० मिटरको उचाइसम्म उडाइएको थियो । साथै ड्रोन फिर्ता आउँदा आधार शिविरसम्म फोहोर पनि ओसारिएको थियो ।
यस्तो उचाइमा हावा धेरै पातलो हुने भएकाले विमानहरूलाई उडिरहन संघर्ष गर्नुपर्छ । डीजेआईका अनुसार फ्लाईकार्ट ३० ड्रोन भने अत्यधिक उचाइ र वातावरणीय स्थितिहरूमा १५ किलोग्राम भार बराबरको सामान बोक्न सक्नेगरी डिजाइन गरिएको छ । डेलिभरी उडानअघि ड्रोनले हावा प्रतिरोध, चिसो तापमानको सहनशीलता लगायतका परीक्षणहरूमा 'कडा' परीक्षणहरू गरेको थियो ।
फ्लाईकार्ट ३० यस वर्षको जनवरीमा मात्र कम्पनीले ल्याएको ड्रोनको नयाँ मोडेल हो ।
डीजेआईले सार्वजनिक गरेका तस्वीरहरूमा अक्सिजन सिलिण्डरहरू लामो लाइनमा झुण्डिएको देखाइएको छ, जुन ड्रोनले बोकेको छ । यसमा बोतलहरू र अन्य सामग्रीहरू ड्रोनले गन्तव्यमा पुर्याई फर्किने क्रममा फोहोर ओसारेको थियो ।
शेर्पा गाइडहरूले सामान्यतया पर्वतारोहीलाई सहयोग गर्नेगरी अक्सिजन बोतल सहितका सामग्रीहरू बोक्ने काम गर्दछन् । यस्तो काममा ड्रोन प्रयोग हुने सके सम्भावित मानवीय क्षति नहुने बताइएको छ । “हामीले यस आइसफलमा प्रत्येक दिन ६(८ घण्टा हिँड्नुपर्छ,” इम्याजिन नेपालका पर्वतीय गाइड मिङ्मा ग्याल्जे शेर्पाले भनेका छन्, “गत वर्ष मैले तीन शेर्पाहरू गुमाएँ । यदि हामी भाग्यमानी हुँदैनौं र समय सही छैन भने त्यहाँ हाम्रो जीवन नै गुमाउनु पर्ने अवस्था आउँछ ।”
डीजेआईका अनुसार यो ड्रोनले १५ किलोग्राम तौल बोकी १२ मिनेटमै गन्तव्यमा पुगेको थियो । सगरमाथाबाट फोहोर हटाउने छिटो र कम जोखिमयुक्त तरिकाका रूपमा पनि ड्रोनलाई लिने गरिएको छ ।
“अप्रिलको अन्त्यदेखि, हाम्रो टोलीले सगरमाथामा सफाइ प्रयासहरूलाई सुरक्षित र अधिक कुशल बनाउने ऐतिहासिक प्रयासमा लागेको थियो,” डीजेआईकी वरिष्ठ कर्पोरेट रणनीति निर्देशक क्रिस्टिना झाङले भनिन्, ूडीजेआई फ्लाईकार्ट ३० यस कार्यको लागि उपयुक्त सावित भयो । ड्रोनद्वारा सुरक्षित रूपमा सामग्री, आपूर्ति र फोहोर ढुवानी गर्ने क्षमताले सगरमाथा पर्वतारोहण कामलाई क्रान्तिकारी बनाउन सक्ने बताइएको छ ।
ड्रोनहरूले नै सामान बोक्ने काम गर्दा सगरमाथा आरोहण सजिलो र सुरक्षित हुने, आपतकालीन अवस्थामा चिकित्सा उपकरणहरू उपलब्ध गराएर छिटो उद्धार सक्षम गर्न सकिने र सगरमाथामा रहेका फोहोर ल्याएर त्यहाँको वातावरण सफा हुने विश्लेषण गरिएको छ ।