काठमाडौँ- माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएकी छन् । उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उनलाई भर्ना गरिएको हो।
बुधबार राजधानीमा आयोजित एक चुनावी कार्यक्रममा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीता दाहाल बिरामी भएपछि अध्यक्ष प्रचण्ड उपस्थित नभएको बताएका थिए। श्रेष्ठका अनुसार सीतालाई आपतकालिन अवस्थामा मेडिसिटी अस्पतालको आइसीयूमा भर्ना गरिएको छ।
‘हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका भयो। उहाँ अहिले मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ।’ श्रेष्ठले जानकारी गराउँदै भनेका थिए। सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित छन्। मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्।
पत्नी सीतालाई आइसीयूमा राखेर उपचार गरिराखेकाले आजलाई राजधानी केन्द्रीत कार्यक्रममै व्यस्त हुनेगरी सिन्धुलीको कार्यक्रम स्थगित भएको हो ।