×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ओलम्पिक पदक लिलामीबाट बालकको उपचार खर्च जुटाउँदै मारिया

ओलम्पिक पदक लिलामीबाट बालकको उपचार खर्च जुटाउँदै मारिया

टोकियो ओलम्पिकमा रजत पदक जितेकी पोल्यान्डकी खेलाडी मारिया आन्द्रेज्यकले एक बच्चाको उपचारका लागि आफ्नो पदक लिलामीमा राखेकी छिन् । ८ महिनाका बच्चाको मुटुको सर्जरीका लागि रकम जुटाउन उनले पदक लिलामीमा राखेकी हुन् । पदक लिलामीबाट १ लाख २५ हजार डलर (करिब डेढ करोड नेपाली रुपैयाँ) रकम संकलन भएको छ ।

मुटुको गम्भीर समस्या देखिएका पोल्यान्डका बालक मिलोसेक मल्यसाको सर्जरी अत्यावश्यक थियो । उनको उपचारका लागि करीब ५ करोड नेपाली रुपैयाँ आवश्यक पर्ने उनको परिवारले जनाएको छ । जसमध्ये अहिलेसम्म आधा रकममात्र जुटेको छ । परिवारको अपीलपछि मारियाले आफ्नो पदक लिलामीमा राखेकी थिइन् । पोल्यान्डको सुपरमार्केट चेन जाब्का पोल्स्काले मारियाको मेडल १ लाख २५ हजार डलरमा खरिद गरेको हो ।

युरोपेली देशले उनको उपचार गर्न इन्कार गरेपछि उनको परिवार उपचारका लागि अमेरिका जान लागेको छ । क्यालिफोर्नियाको स्टान्डफोर्ड यूनिभर्सिटीको मेडिकल सेन्टरमा उनको उपचार हुने बताइएको छ ।

पदक मारियालाई नै
पदक खरिद गरेपछि जाब्काले पदक आफू नराख्ने भन्दै पदकको सुरक्षा र हेरविचारको जिम्मा मारियालाई नै दिएको छ । कम्पनीको यो निर्णयको अहिले सबैतिर चर्चा र प्रशंसा भइरहेको छ । जाब्काले लेखेको छ‚ ‘हामी मारियाको कदमप्रति एकदमै खुसी छौँ । हामी यसकारण पनि खुसी छौँ की हामिले मारियालाई सहयोग गर्न सक्यौँ ।’

मारियाले टोकियो ओलम्पिकमा महिला ज्याभलिन थ्रोमा रजत पदक जितेकी थिइन् । उनले फाइनलमा ६४.६१ मिटर ज्याभलिन फाल्दै पदक हात पारेकी थिइन् । उनी २०१६ को रियो ओलम्पिकमा भने केवल २ सेन्टीमिटरले मेडल जित्ने मौका गुमाएकी थिइन् ।

२०१८ मा मारिया आफैँ पनि गम्भीर बिरामी भएर निको भएकी थिइन् । उनलाई ‘ओस्टेओमा’ को लक्षण देखिएको थियो । यो एक बोन ट्युमर हो । यद्यपि २०१९ मा उनको सर्जरी भएको थियो । त्यसपछि उनी ठिक भएर ओलम्पिकमा सहभागी हुँदै रजत पदक जित्न सफल भएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्