काठमाडौं- वामपन्थी नेता घनश्याम भुसालले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरेका छन्। शुक्रबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका हुन् ।
भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसमक्ष ५ बुँदे प्रस्ताव राखेका थिए। भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए। ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु’, उनले भने, ‘यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ।’
उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए। ‘सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ फस्यो। व्यवहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ’, भुसालको भनाइ छ। उनले अहिले पनि एमालेले संसद्मा राम्रो भोट पायो भने फेरि संसद् विघटन गर्छ भनेर संसदमै देखिएको भन्दै माओवादी पनि हिजोकै अवस्थामा फर्किएको आरोप लगाए।