काठमाडौँ - नेकपा एमालेको खनाल-नेपाल पक्षले काठमाडौँ जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ।
आइतबार काठमाडौँमा भएको भेलाले बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका मानन्धर पुस ७ गते साबिक नेकपा विभाजनपछि प्रचण्ड–माधव पक्षीय नेकपाको पनि जिल्ला अध्यक्ष भएका थिए।
यस्तै, उपाध्यक्ष सोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् । उपाध्यक्ष सापकोटा काठमाडौँ महानगरपालिका वडा न. १४ कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन्।
खनाल-नेपाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार नेतालाई पार्टीबाट ६ महिना निलम्बन गरेसँगै खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीब्रता दिएको छ ।