×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले १-१ गोलको बराबरी खेलेका छन् ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढीका लागि ओलावाले आफिजले गोल गरे । ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए ।

रोमान्चक बनेको खेलमा ललितपुरले बल पोसेसनमा पकड जमाएको थियो । तर, पेनाल्टीसहित पाएको मौकालाई ललितपुरले सदुपयोग गर्न सकेन् ।

खेलको पाँचौ मिनेटमा अन्जन विष्टले गोल गरे । विमल रानाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले रोकेपछि आएको रिबाउन्डमा अन्जनले गोल गरेका थिए । तर, रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो ।

खेलको २७ औं मिनेटमा डिबक्स बाहिरबाट ललितपुरका इरिक विष्टको लामो प्रहार पोस्टको नजिकबाट बाहिरिएको थियो ।

खेलको ४२ औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टको प्रहार गोलकिपर किरण चेम्जोङ बिट भएको अवस्थामा धनगढीका डिफेन्डर निशा खड्काले गोललाइनबाट बल क्लियर गरे ।

खेलको ४४ औं मिनेटमा ललितपुर पेनाल्टीमा गोल गर्न चुक्यो । उसका नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् ।

नुर्लानको प्रहार धनगढीका किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । कप्तान किरणले आफ्नो पेनाल्टी क्षेत्रमा कप्तान अन्जन विष्टलाई अनावश्यक फउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो ।

जारी प्रतियोगितामा दोस्रो पटक ललितपुरका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका हुन् । यस अघि उद्घाटन खेलमा अन्जन पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

खेलको ६६ औं मिनेटमा धनगढीका बुद्धबल तामाङको सशक्त प्रहार पोस्टको बार भन्दा केहि माथिबाट बाहिरिएको थियो ।

खेलको ७२ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाए । ललितपुरका खेलाडीलाई लाग्दै आएको बलमा अनमार्क रहेका ओलावाले हेड मार्फत सहजै गोल गरे ।


तर, खेलको ७९ औं मिनेटमा रन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-१ गोलको बराबरीमा ल्याए । सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका रन्जनको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको इन्जुरी समयमा धनगढीका ओलावालेको प्रहार ललितपुरका डिफेन्डर निरज बस्नेतले गोललाइन नजिकैबाट क्लिएर गरेका थिए ।

खेलमा धनगढीका दिनेश राजवंशी प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

प्रोमोसिङ प्लेयर अफ दि म्याच ललितपुरका निरज बस्नेत चुनिए । उनले १० हजार हजार प्राप्त गरे ।

बराबरीसँगै धनगढीले ३ खेलमा ४ अंक जोडेको छ । धनगढी दोस्रो स्थानमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस्