×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

 राष्ट्रिय हितका लागि गुटबन्दी त्याग्न शिक्षामन्त्री पुनको जेन-जीसहितलाई अपिल: इतिहासबाट पाठ सिक्न आग्रह

 राष्ट्रिय हितका लागि गुटबन्दी त्याग्न शिक्षामन्त्री  पुनको जेन-जीसहितलाई अपिल: इतिहासबाट पाठ सिक्न आग्रह

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति त्याग्न जेन-जी पुस्तासहित सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एउटा लामो पोस्ट लेख्दै गुटबन्दीले देशलाई फाइदा नभई झन् धेरै नोक्सान हुने भन्दै विगतका ऐतिहासिक घटनाक्रमहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

मन्त्री पुनले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौम सत्ताको रक्षाका लागि गुटबन्दी नगर्न आग्रह गर्दै गुटबन्दी र खुट्टा तानातानले कसलाई फाइदा पुर्‍याउँछ भन्ने कुरा इतिहासका पानाबाट सिक्न सुझाएका छन् । उनले इतिहासका विभिन्न कालखण्डका ६ वटा उदाहरण दिँदै गुटबन्दीले देशलाई कसरी कमजोर बनायो भन्ने स्पष्ट पारेका छन्:

१. राणाहरूको उदय: नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भन्नेबाट सुरु भएको गुटबन्दी गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पालासम्म चरम बिन्दुमा पुग्दा त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरंकुश राणातन्त्र भोग्नुपरेको थियो ।

२. राणा शासनको अन्त्य: राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीर शमशेरकै पालादेखि राणा खलकभित्रै क, ख, ग वर्गमा विभाजन भई गुटबन्दी सुरु भएको र आपसमा खुट्टा तानातान गरेकै कारण उनीहरू कमजोर भई २००७ सालको जनक्रान्तिद्वारा हटाइए ।

३. प्रजातन्त्रको विघटन: २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन नसक्नुको मुख्य कारण त्यतिबेलाका राजनैतिक दलहरूबीचको खुट्टा तानातान थियो । यसले राजा महेन्द्रलाई चुनाव नगराउन आलटाल गर्ने आधार दियो र पछि २०१५ सालमा आम चुनावबाट गठन भएको बहुमतको सरकारलाई विघटन गरी पञ्चायती व्यवस्था ल्याउने अवसर प्रदान गर्‍यो । यो अवसर त्यतिबेलाको राजनैतिक समूहबीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सृजना गरेको थियो ।

४. पञ्चायती व्यवस्थाको अन्त्य: २०१७ सालदेखि २०४६ सालसम्मको पञ्चायती शासन भित्र पनि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह जस्ता विभिन्न गुटहरू थिए र उनीहरू आपसमा खुट्टा तानातान गर्थे । राजखलकभित्रका भूमिगत गिरोहहरूले पनि राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे । यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो ।

५. जेन-जी आन्दोलनको पृष्ठभूमि: २०४६ सालदेखि २०८२ सालको अचानक विष्फोटन भएको जेन-जी आन्दोलन सुरु भएको दिनसम्मको इतिहासलाई निष्पक्ष भएर विश्लेषण गर्दा, लोकतन्त्र आएपछि जेन-जी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ । त्यसैको परिणाम स्वरूप जेन-जीहरू र आम जनता मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो । आन्दोलन जेन-जीहरूले सुरुवात गरेको भएतापनि आम जनताले सहयोग गरेका छन् किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए ।

६. जेन-जीलाई अनुरोध: मन्त्री पुनले जेन-जीहरूलाई माथिको इतिहासबाट पाठ सिक्न अनुरोध गरेका छन् । उनले जेन-जी एउटा निश्चित उमेरको युवाहरूको समूह भएको र उनीहरूको राजनीतिक संगठन नभएको बताएका छन् । देशमा सुशासन ल्याउने, भ्रष्टाचार निर्मूल पार्ने र नेपाललाई एउटा समृद्ध देश बनाउने जेन-जीहरूको सपना पूरा गर्नका लागि उनीहरूमा एकताको अत्यन्तै खाँचो रहेको मन्त्री पुनको भनाइ छ । उनले जेन-जीहरूबीच पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै मातृभूमिको अस्तित्वका लागि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोऱ्याउन विनम्र अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्