×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सक्ने अवस्था छैन : मन्त्री झाँक्री

आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सक्ने अवस्था छैन : मन्त्री झाँक्री

काठमाडाैँ- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिएकी हुन् ।

मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुन सकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिइन्। बारम्बार निर्देशन दिँदा पनि पुँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भनिन्, “हामीले बारम्बार छलफल सल्लाह गर्छौँ तर कामको गति उस्तै छ । हामीसँग समय थोरै छ, देखिने गरी काम गरौँ ।”

काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले जनताले अनुभूत गर्ने गरी काम गर्न नसकेको मन्त्री झाँक्रीको भनाइ रहेको उनको सचिवालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले आयोजनाहरूको पुँजीगत खर्चको स्थिति सन्तोषजनक नदेखिएकाले सबै आयोजना प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिए ।

मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा चालुतर्फ ५३.३९ प्रतिशत र पुँजीगततर्फ ३५.३९ प्रतिशत गरी कुल ३६.७३ प्रतिशत मात्र खर्च भएको जानकारी दिए । उनले अघिल्लो वर्षको सोही अवधिमा समग्रमा ६२ प्रतिशत खर्च भएको जनाउँदै यसवर्ष मन्त्रालयको खर्चको स्थिति सन्तोषजनक नरहेको बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले हालसम्म विभागले ४० प्रतिशत प्रगति गरेको विवरण पेस गरे । उनले आगामी असार १५ गतेसम्म विभागले झन्डै ८० प्रतिशत कार्य प्रगति ल्याउने पनि दाबी गरे। सघन सहरी कार्यक्रमको प्रगति विवरण ४० प्रतिशत रहेको उनले बताए ।

मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, आवास कम्पनी, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, संघीय संसद् सचिवालयलगायत विभाग र निकायले काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्