काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय (टी-२० आई) खेल खेल्दैछ। यो नेपालको क्रिकेट इतिहासमा वेस्ट इन्डिजसँगको पहिलो भेट हो।
यूएईको सारजाह क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ।
नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी-२० आई सिरिज खेल्नेछ। दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएअनुसार, वेस्ट इन्डिजसँगको सिरिज लगत्तै नेपाली टोली ओमान प्रस्थान गर्नेछ। ओमानमा अर्को सातादेखि आईसीसी टी-२० एसिया कप क्षेत्रीय छनोट प्रतियोगिता हुँदैछ, जसमा नेपालले सहभागिता जनाउनेछ।