काठमाडौं - धादिङको गल्छी निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।
जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरू सरस्वती पनेरु पण्डित, निजको छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका वडा नं.१४ घर भई हाल गल्छि स्थित निरजकै घरमा डेरा गरि बस्ने किरन राना समेत गरि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला सरकारी वकिल कार्यालय धादिङ बाट जेठ २२ गते पेश भएको अभियोग अनुसार तीनै जना प्रतिवादीहरूलाई जेठ २४ गते जिल्ला न्यायाधीश गिता श्रेष्ठको इजलास बाट आदेश भएर पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
गत बैशाख २७ गते राती अं.२३:४५ बजेको समयमा जिल्ला धादिङ गल्छी गा.पा.वडा नं. ८ निबुवा बोट स्थित सरस्वती पनेरु (पण्डित) ले संचालन गरेको शानदार होटल एण्ड लजमा सोही ठाउँका स्थानीय बासिन्दा २८ बर्षिय बिनोद थापा मगरले खाजा खाएको पैसाको विवादमा झै-झगडा हुँदा संचालिका सरस्वतीका छोरा निरज पण्डितले छुरा प्रहार गरि हत्या गरेका थिए ।
छुरा प्रहारबाट घाईते भएका रानाको उपचारका क्रममा काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते ०१:५४ बजेको समयमा मृत्यु भएको थियो । होटेल संचालिका रहेकी सरस्वती पनेरू पण्डितले आफ्नो होटेलमा बालिकाहरूलाई जबरजस्ती यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पीडितको जाहेरीको आधारमा ज्यान सम्बन्धी कसुरका साथै थप दुईवटा मानव बेचबिखन मुद्दामा समेत प्रतिवादी बनाई अभियोग पेश भएकोमा तीनवटै मुद्दामा पुर्पक्षका लागि थुनामा पठाईएको हो ।
संचालिका सरस्वतीका छोरा निरज पण्डित र अर्का प्रतिवादी किरन रानालाई ज्यान सम्बन्धी कसुरमा मात्रै अभियोग पेश भएकोमा सोही मुद्दामा पुर्पक्षका लागि थुनामा पठाईएको हो ।