काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।
भारतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता गर्नेछन् । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ । तीन दिने भारत भ्रमणको क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच पनि भेटवार्ता तय भएको छ ।
भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भने अहिले निश्चित भइसकेको छैन । प्रचण्डले दिल्ली बसाइको क्रममा एक सेमिनारमा प्रमुख वक्ताको रूपमासमेत सहभागी हुने बताइएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किनेछन् ।