×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोजपुरमा नरसंहार: ज्वाइँद्वारा सासु, ससुरासहित ४ जनाको विभत्स हत्या

भोजपुरमा नरसंहार: ज्वाइँद्वारा सासु, ससुरासहित ४ जनाको विभत्स हत्या

भोजपुर- भोजपुरमा एक व्यक्तिले आफ्नै ससुरालीका चार सदस्यको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका छन्। भोजपुर नगरपालिका-२, हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका-२, धोदलेखानीस्थित ससुरालीमा गएर सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार हत्यापछि राई आफैँले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएअनुसार, शनिबार राति करिब सवा १ बजे राईले प्रहरीको कन्ट्रोल रुममा फोन गरी "ममाथि चक्कु प्रहार भयो, मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्" भनेका थिए।

राईको फोनलगत्तै अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो। प्रहरी घटनास्थल, रामप्रसाद राई गाउँपालिका-२, धोदलेखानीमा पुग्दा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासु मन्जु गिरी, १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव फेला पारेको थियो। प्रहरीले नाबालिग भएकाले श्रीमती र सालोको नाम भने सार्वजनिक गरेको छैन।

प्रहरीले हत्याका आरोपी राजेन्द्र राईलाई भने घटनास्थलबाट करिब ४-५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका-१, हर्बुभञ्ज्याङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ। राईको पेटमा गहिरो चोट लागेको छ र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा उनले सुरुमा सासुले आफूमाथि चक्कु प्रहार गरेपछि प्रतिकारमा सबैको हत्या गरेको बताएका छन्। प्रहरी निरीक्षक श्रेष्ठले भने, "उनी बिस्तारै बोल्न सक्छन् र आफूले हत्या गरेको स्वीकारेका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।"

राईले करिब एक वर्षअघि प्रेम विवाह गरेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्