×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप छनोटमा जिम्बावेलाई नेपालको २ सय ९१ रनको बलियो लक्ष्य

विश्वकप छनोटमा  जिम्बावेलाई नेपालको २ सय ९१ रनको  बलियो लक्ष्य

काठमाडौं - ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट कीर्तिमानी ब्याटिङको साझेदारीमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को पहिलो खेलमा घरेलु टोली जिम्बावेलाई २ सय ९१ रनको बलियो लक्ष्य दिएको छ ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनायो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए । उनी स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा योर्कर बलमा बोल्ड आउट भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।

अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उनीहरु आउट भएपछि नेपालले बाँकी १८.१ ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो ।

उक्त साझेदारी नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।
एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए ।

तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । उक्त क्याच जिम्बावेलाई ठूलो भारी पर्यो । सूर्यको कारण चताराले कुशल मल्लको क्याच शून्यमा छाड्न पुगेका थिए ।

कुशल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । कुशल चताराको बलमा मिडअनमा क्रेग इर्विनबाट क्याच आउट भए । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए ।

भीम सार्की गोल्डेन डक आउट भए । नेपालले पाँच रन पेनाल्टी समेत पाएको थियो । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६र आरिफ शेख १० रनमा आउट भए । करण केसी २ रनमा नट आउट रहे ।

जिम्बावेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्