काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी, १६ जिल्लाको जिल्ला अधिवेशन र म्याद गुज्रिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकअघि बुधबार कार्य सम्पादन समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा छलफल गर्न भन्दै पदाधिकारी बैठक बसेको थियो ।
इतर समूहको तयारी
बैठकमा संस्थापन इतर समूहले स्थानीय तहको निर्वाचनमा एक्लै जान नेतृत्वलाई दबाब दिने तयारी गरेका छन् । डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले पाँचदलीय गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकाल्दै कांग्रेस एक्लै निर्वाचनमा जान नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।
इतर समूहले पटक-पटक आफूपक्षीय पदाधिकारी र कार्यसम्पादन समिति सदस्यहरूसँग छलफल गरेको थियो । सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको एजेन्डालाई अन्तिम रूप दिनुअघिसमेत कोइरालाले आफूपक्षीय पदाधिकारीसँग भेटेर छलफल गरेका थिए । बुधबार बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतर समूहका नेतासँग छलफल भएको थियो ।
सोमबार महामन्त्री गगन थापाको नक्सालस्थित सचिवालयमा यसबारे धारणा बनाउन पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा उपसभापति धनराज गुरुङबाहेक महामन्त्री थापासहितका पदाधिकारी र इतर समूहका नेताहरू सहभागी भएका थिए । त्यसमा पनि गठबन्धनको औचित्य नरहेको निष्कर्ष निकालिएको थियो ।