काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले बैंगलोरलाई २९ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको बैंगलोर १९.३ ओभरमा ११५ रन बनाउदा अलआउट भएको थियो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्बाधिक २३ रन बनाए भने वनिन्दु हसरंगाले १८, शबाज अहमदले १७ र रजत पाटिदारले १६ रन बनाए ।
राजस्थानका बलर कुलदीप सेनले सर्बाधिक ४ विकेट लिए भने आर आश्विनले ३ र प्रसिद कृष्णले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले सर्बाधिक ५६ रन बनाएका थिए । त्यस्तै कप्तान सन्जु सामसनले २७, आर आश्विनले १७ र डार्यल मिचेलले १६ रन बनाएका थिए ।
त्यसैगरी बैंगलोरका बलर मोहमद सिराज, जोस हजेलवूड र वनिन्दु हसरंगाले २-२ विकेट लिएका थिए ।
यो जितपछि राजस्थानले ८ खेलमा छैटौं जित हासिल गरेको छ र १२ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलोरको भने ९ खेलमा चौथो हार बेहोर्दै १० अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।