काठमाडाैँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीभित्र अराजकता, गुटबन्दी हावी भएको बताएका छन् ।
बुधबार काठमाडौँमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताएका हो ।
युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको धारणा राखे ।
त्यस्तै, उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाई थियो ।
त्यस्तै, उनले अहिले जतिनै क्रान्तिको कुरा गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको बताएका थियो ।
त्यस्तै, उनले केही दल सेटिङ गरेर चुनाव जित्न सिपालु रहेको भन्दै उनले आगामी चुनाव पार्टीका लागि ‘जीवन मरण’को सवाल भएको धारणा राखेका थिए ।