×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृह मन्त्रालय माओवादीले पाउनुपर्नेमा नेताहरुको जोड, प्रचण्ड दबाबमा

गृह मन्त्रालय माओवादीले पाउनुपर्नेमा नेताहरुको जोड, प्रचण्ड दबाबमा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा गृह मन्त्रालयका विषयमा नेताहरूले जोडदार रूपमा बोलेका छन् । नेताहरूले गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् ।

पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृहमन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् । 

‘प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्छ । अहिले कुनैपनि मन्त्रालय माओवादीको भागमा छैन’ बैठकका सहभागी एक पदाधिकारीले भने, ‘अहिले रवि जीले गृहमन्त्रीबाट राजीनामा दिएपछि पार्टीले लिनुपर्छ । पार्टीले लिएपछि जो गएपनि हुन्छ ।’

रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा राखेका छन् ।

‘अहिले रवि जीको मुद्दा किनारा लागि सकेको छैन । अर्को तत्काल गैर सांसदलाई मन्त्री बनाउनु हुँदैन त्यस निर्णयले सरकारको आलोचना बढ्छ’ ती पदाधिकारीले भने, ‘यस्तो अवस्थामा रवि जीको पार्टीबाट गृह मन्त्री हुने प्रोफाइलको नेता छैनन् । यस्तो अवस्थामा माओवादीले सम्हाल्नुपर्छ ।’

सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् । सत्ता जोगाउने नाममा अनुचित काम नगर्न प्रचण्डलाई नेताहरुको सुझाव छ । यदि गृह माओवादी भागमा आएमा शक्ति बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका हुन् ।

प्रतिकृया दिनुहोस्