विराटनगर:प्रदेश १ मा ७० हजारलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाइने तयारी भएको हो ।
६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउनेगरी १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार भोलिसम्म प्रदेश १ का सबै जिल्लामा खोप पुगिसक्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपूर्तिमा आएको खोपलाई जिल्ला-जिल्लामा पठाउने काम भइरहेको उनले बताए ।
सबैभन्दा धेरै खोप मोरङमा
साहका अनुसार ताप्लेजुङमा ३ हसार ७०३, संखुवासभामा ४ हजार ४००, सोलुखुम्वुमा २ हजार ८८५, ओखलढुङ्गामा ४ हजार २९१, खोटाङमा ४ हजार८४८, भोजपुर ४ हजार ३४७, धनकुटामा ४ हजार ८५३, तेह्रथुममा २ हजार ८४६, पाँचथरमा ५ हजार ५८१, इलाममा ८ हजार८६२, झापामा २६ हजार ४१९, मोरङमा ३१ हजार १८५, सुनसरीमा २६ हजार १३२, उदयपुरमा १० हजार १५१ डोज खोप पठाउने काम भइरहेको छ । शाहका अनुसार दुवै डोजका लागि खोप पठाइएको छ ।
मापदण्डअनुसारका सबैलाई खोप
कोभिड-१९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्डअनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकासमन्त्री उषाकला राईले निर्देशन दिएकी छन् । उनले सबै नागरिकलाई चाँडोभन्दा चाँडो कोभिड-१९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताइन् । विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०-६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोहीअनुसार गर्न भनिएको राईले बताइन् ।