धनगढी - कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
कमैया मुक्ति दिवसको अवसरमा दुवै पालिकाले आज स्थानीय बिदा दिएका हुन । पालिकादेखि लिएर स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको दुवै पालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर जनाएका छन् ।
मुक्त कमैयाले भोली कमैया मुक्ति दिवस मनाउँदै छन् । नेपालमा बन्धुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् ।
सरकारले कमैया मुक्तिको घोषणा गरी उनीहरू सबैको पुनर्स्थापना गर्ने र जीविकोपार्जनमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको थियो । तर, कमैया मुक्ति घोषणाको दुई दशक नाघेँ पनि अझै सबैको पुनर्स्थापना भइसकेको छैन । पुनर्स्थापना हुन नसकेका, छुट मुक्त कमैया कठिन जीवनयापन गर्न बाध्य छन् ।