काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न हुन लागेको हो।
अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।
अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।
यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो।
सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो।
संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी विवादमा मागेको जवाफमा प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिट खारेज गर्न माग गरेका छन्।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्रीको भूमिकासहित गृहमन्त्री नियुक्त भएका थिए।