काठमाडौँ- स्पेनिस कोपा डेल रेमा लालिगाको उपाधि होडको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले संघर्षपूर्ण जित निकाल्दा खराब लयबाट गुज्रिरहेको बार्सिलोना भने अन्तिम ६ बाटै बाहिरिएको छ। कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा रियलले एल्चेविरुद्ध संघर्षपूर्ण खेलमा २-१ को जित निकाल्दा बार्सिलोना भने एट्लेटिको बिलबाओसँग ३-२ ले स्तब्ध बन्यो।
निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेलमा ३० मिनेटको अतिरिक्त समयमा रियलले बाजी मार्यो। अतिरिक्त समयको १०२ औँ मिनेटमा रियलका मार्सेलो रातो कार्ड खाएर मैदानबाट बाहिरिँदा रियल १० खेलाडीमा सीमित भएको थियो।
मार्सेलो आउट भएको एक मिनेटमा नै एल्चेले गोन्जालो भर्डुको गोलमार्फत् खेलमा अग्रता लियो।
तर इस्कोले १०८ औँ मिनेटमा खेल बराबरीमा ल्याए। रियलका लागि निर्णायक गोल भने इडेन हजार्डले ११५ औँ मिनेटमा गर्दै टीमलाई क्वाटर फाइनलमा पुर्याए। अतिरिक्त समयको इन्जुरी समयमा एल्चेपनि १० खेलाडीमा सीमित भएको थियो। उसका मिला दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
त्यस्तै बिहीबारनै भएको खेलमा बार्सिलोना भने एट्लेटिको बिलबाओसँग ३-२ ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो। बिलबाओका लागि इकर मुनियानले दुई गोल गरेपछि बार्सिलोना स्तब्ध बन्यो। खेल शुरू भएको दोस्रो मिनेटमा नै मुनियानले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए। २० औँ मिनेटमा फेरन टोरेसले बार्सिलोनालई बराबरीमा ल्याए।
पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफको अन्तिम समय नाटकीय बन्यो। मार्टिनेजले बिलबाओका लागि ८६ औँ मनेटमा दोस्रो गोल गर्दा इन्जुरी समयको तेस्रो मिनेटमा गोन्जालेज लोपेजले बार्सिलानालई बराबरी गर्दै निर्धारित समय २-२ गोलको बराबरीमा ल्याएका थिए।
तर ३० मिनेटको अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीलाई मुनियानले गोल गर्दा बार्सिलोना स्तब्ध बन्न पुग्यो। त्यसपछि दुवै टीमबाट थप गोल हुन सकेन र एट्लेटिको बिलबाओले क्वाटर फाइनलमा स्थान बनायो।