काठमाडौं -स्वास्थ्य मन्त्रालयले बंगलादेशबाट ३५ हजार भायल रेम्डेसिभिर औषधी ल्याउने भएको छ।
कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिरको अभाव हुने देखिएपछि मन्त्रालयले तुरुन्तै बंगलादेशबाट ल्याउने भएको हो।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ३५ हजारमध्ये पहिलो चरणमा सोमबार १० हजार भायल ल्याइने छ।
हिमालय एयरले बंगलादेशमा कमर्सियल फ्लाइट गर्दैछ। सोही उडानबाट मन्त्रालयले पहिलो चरणको रेम्डेसिभिर ल्याउने उच्च स्रोतले सेतोपाटीलाई बतायो।
सरकारसँग २७ हजार भायल रेम्डेसिभिर थियो। तर, अस्पतालहरूले जथाभावी प्रयोग गरेका कारण औषधी अभाव भएको उक्त स्रोतले बतायो।
दोस्रो चरणमा २० हजार र तेस्रो चरणमा पाँच हजार भायल रेम्डेसिभिर ल्याइने एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार थप १ लाख ३० हजार भायल अनुमति जारी गरिने छ। सो अनुमतिअनुसार औषधी व्यवस्था विभागले रेम्डेसिभिरको खरिद र परिचालनको नेतृत्व गर्ने छ।
यसैबीच, सरकारले तुरुन्तै चीनबाट अक्सिजन सिलिण्डर ल्याउन वाइडबडी जहाज चार्टर गर्ने भएको छ।