×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

स्व गुमाएको स्ववियु 

स्व गुमाएको स्ववियु 

समुन्द्रको पानीको स्वाद थाहा पाउनलाई पुरै समुद्र पिउनु पर्दैन, एक थोपा चाखे पुग्छ । त्यसैगरी विशेषत:  विद्यार्थीहरुको लागि नेपालकाे राजनीतिको चरित्र बुझ्नलाई सबै कुरा थाहा पाउन जरूरी छैन, विद्यार्थी संगठनहरूको राजनीति हेरे पुग्छ। 

नेपालमा ठूला ठूला राजनीतिक परिवर्तन भएका छन्। पञ्चायत, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्रको एतिहासिक अनुक्रममा विद्यार्थीहरूको ठूलो हात छ, जसलाई छुटाएर हाम्रो इतिहासलाई समग्रमा र पूर्णरूपमा बुझ्न सकिँदैन। लोकतन्त्त्र र गणतन्त्र जस्ता विषयलाई लोकप्रिय बनाउने कार्यमा विद्यार्थी, विद्यार्थीसंगठन र विद्यार्थी आन्दोलनको भूमिका निर्णायक  नै थियो। 

उनीहरूको आशा, पसिना र रगतले लोकतांत्रिक व्यवस्था आएको दुई दशक पुग्न लागिसक्यो। तर पनि नेपाली राजनीतिको आधारभूत चरित्र फेरिएको कुनै छनक देखिएको छैन। व्यवस्था फेरिनु मात्र ठुलो कुरा होइन, राजनीतिक चरित्र, सामाजिक र सांस्कृतिक पक्ष यी सब कुराहरू फेरिनु पर्छ। यो व्यवस्थाको मूलधारे राजनीतिको कुरै नगर्दा भयाे, यो अहिले सङ्कटहरूको बीच श्वास फेरिरहेको छ। यो व्यवस्थालाई यतिसम्म विकृत बनाइयो कि सत्तासिनहरुको चाहना नै जनताको कामना र सत्ताको खेलले निम्तिएको सङ्कट नैं जनताकाे सङ्कट हो भनेर बुझ्न बुझाउन थालिएको छ। 

खैर, यो कुरामा अहिले धेरै नजाउँ। यी सब नेतृत्व नाटकको मञ्चन हुँदै गर्दा विद्यार्थी सङ्गठन कहाँ छ त, यो प्रश्न प्रवेश गरौँ। यो प्रश्नको उत्तर नखोज्ने अथवा आजसम्म यो प्रश्नकै अनुहार नदेखेको मान्छेका अनुहार विद्यार्थी सङ्गठनमा थपइरहेका छन् । यही विडम्बनाले  विद्यार्थी संगठनको अहिलेको समयको मुखौटा हटाएर असली चेहरा देखाएको छ। विद्यार्थी सङ्गठनहरू छन्, आन्दोलन छैन, कार्यक्रम छैन, बाटो छैन। 

समाचारहरू खोजौं, पढौं। विद्यार्थी संगठनप्रति तिक्तता पोख्नेहरूको सङ्ख्या र आवाज बिस्तारै बढ्दै छ। यतिसम्म कि लोकप्रिय शिक्षाविदहरूले विद्यार्थी संगठनलाई  शीघ्रतिशीघ्र उखेलिनु पर्ने एजेरुको रूपमा लिएका छन्। यसको उपस्थिति र आबश्यकतामाथि प्रश्न उठाउनेहरू धेरैं छन्। विद्यार्थीहरू शैक्षिक संस्थाको रवैयामाथि जति असन्तुष्ट छन्, त्यति नै असन्तुष्ट विद्यार्थी संगठनसँग छन्। यति गौरवशाली विगत बोकेका विद्यार्थी सङ्गठन कहाँ चिप्लियो त? यसको उत्तर खोज्ने बेला भएको छ। 

विद्यार्थी संगठनहरु महान् आन्दोलन र क्रान्ति गरेर आएका छन्। दौडिरहनु, गतिशील हुनु क्रान्तिको चरित्र। जब क्रान्तिकारीहरू थकाइ मार्नमा अधिक सुखबोध गर्छन्, अनि दक्षिणपन्थको यात्रा सुरू हुन्छ। भएकाे यही हो। विद्यार्थी सङ्गठनले एक चरणको क्रान्ति पुरा गर्यो र सुस्ताउन थाल्यो। क्रान्तिकारी आधार भएकाे कुनै पनि संगठन जव थकाइ मार्न थाल्छ, यथास्थिति नै क्रान्तिकारी कदम हो भन्ने भ्रम पाल्न र बेच्न थाल्छ अनि अग्रगामीलाई आँखा तर्न थाल्छ। विद्यार्थी संगठन यथास्थितिमा सीमित भयाे। व्यवस्थालाई बलियाे र उन्नत वनाउनमा जागर चलाउन छाड्यो। 

स्ववियु के हो? क्याम्पस र विद्यार्थी जोड्ने पुल। शैक्षिक संस्थामा उठेका विकृतिको विरोधमा आवाज उठाउने संगठन। विद्यार्थीहरूलाई आफ्नो काम आफै गर्ने सक्षमता र गतिशीलता निर्माण गर्न लागेको संगठन।राजनीतिक रूपमा सचेत विद्यार्थी उत्पादन गर्ने सङ्गठन । ज्ञान र समाज जोड्ने उदेश्य लिएको सङ्गठन। लोकतन्त्र बोक्ने संगठन। मूलतः स्ववियु यही नै हो, स्ववियु ले यिनै यिनै काम गर्छन। 

स्ववियुको यति महत्वपूर्ण क्षेत्रमा योगदान हुँदाहुँदै पनि, पुरा गर्नुपर्ने कर्तव्यहरु हुँदाहुँदै पनि यो तहको तिक्तता किन आयो त? यसका केही उत्तरहरू यसप्रकार छन्: 

१. सबैभन्दा पहिला त, शैक्षीक संस्थाहरूमा सिकाइ र अध्ययनको माहोल बनाउन पर्थ्यो। विद्यार्थी सङ्गठनको राजनीतिले कहिले ताला लगाएर, कहिले माला लगाएर सिकाइको माहोल ध्वस्त पारियो। वाहिर जति नै ठूलो कुरा गरे पनि भित्रभित्रै विश्वविद्यालयको पढाई यस्तै त हों नि भनेर विद्यार्थीलाई निरास बनाइयो ।

२.अहिलेको बेला विद्यार्थी संगठन माउ पार्टीको हनुमान हुनु वाहेक केही पनि गर्न सकेन। माउ पार्टीको विचार, सिद्धान्त बोके पनि कार्यक्रमिक पक्षम ऊ स्वतन्त्र हुन्छ। तर उ त्यसमा पनि स्वतन्त्र हुन सकेको छैन। माउ पार्टी पथविरत हुँदा आलोचना गर्दै चुस्त दुरुस्तबनाउनु पर्नेमा हरेक कदमको संरक्षक भएपछि त्यसबाट प्रगति आशा गर्न सकिंदैन। 

३. हरेक राजनितीक र सामाजिक सामाजिक मुद्दाहरूमा बोल्नेभए पनि शैक्षीक मुद्दामा भने कहिले बलियोसँग बोलेको देखिएन। शिक्षामा निजीकरण निम्त्याउने कार्यमा विद्याथी संगठनहरु आफै सरिक भएकाे देखियो। निजीकरणकै काखमा बसेर अनियमितताहरू गरेको समाचार सुन्न पाइयो। 

४. विद्यार्थी सङ्गठनको प्याट्रोनेज पोलिटिक्स गर्दा शैक्षीक संस्थाको नियम र प्रक्रियाहरू कमजोर हुन थाल्यो। विद्यार्थीहरू प्रक्रिया विधि पुर्याएर भन्दा पनि विद्यार्थी संगठनहरूको शक्तिको वैशाखी टेकेर कर्मकाण्डीय शैलीमा प्रस्तुत हुन थाले जसबाट असक्षम नागरिक जन्मनु बाहेक केही पनि हुन सक्दैन। 

५. विद्यार्थी सङ्गठनको राजनीतिक प्रशिक्षण पनि हेरीनसक्नु नै हुन्छ। शैक्षीक, राजनीतिक तथा दार्शनिक आयामहरूको कुरा गर्नुको साटो ' निषेधको राजनीति ' मै मग्न भइरहेको हुन्छ। प्रत्येक प्रशिक्षणको सार ' हामी ठीक किनकि त्यो संगठन बेठीक ' भन्दा बढी केही पनि हुँदैन। 

६. बिद्यार्थी संगठनको घोषणापत्र र कार्यक्रम हेरेरै सँगठन कहाँ पुग्यो भन्ने कुरा अनुमान लगाउन सकिन्छ। समस्या नै समस्याको फेहरिस्त लेख्ने, तर त्यसको समाधानका लागि कुनै पनि प्रभावकारी कार्यक्रम भने हुँदैन। यतिसम्म कि प्रस्तुत गर्ने भनिएका कार्यक्रमहरुमा अतितमोह, शैक्षिक निजीकरणको गन्ध मात्र आउँछ। 


मुलधारको राजनीतिले खुब सपना बेच्यो र आफुलाई स्थापित गर्यो। विद्यार्थी सङ्गठनले पनि त्यही धूर्तताको अनुकरण गर्छ र राजनीतिमा आफूलाई स्थापित गर्नेछन् , अहिले देखिएकाे दृश्य यहि हो।

भनिन्छ - बोटबिरुवामा कुहिने रोग तल्लो भागबाट र सुक्ने रोग माथिबाट सुरू हुन्छ तर राजनीतिमा भने यो ठ्याक्कै उल्टो हुन जान्छ । राजनीतिमा कुहिने रोग माथिबाट तलतिर सर्दै सर्दै जान्छ। स्ववियुका संगठनहरू पनि तिनै मूल पार्टीका एउटा अङ्ग हुनुबाहेक अरू सबै स्व - अस्तित्वका आयामहरू लगभग शून्य भएकाले विद्यार्थी संगठन कसरी माउ पार्टी जस्तै कुहिदैछ भन्ने कुरा ठम्याउन गाह्रो हुँदैन। 

यसो भन्दै गर्दा विद्यार्थी सङ्गठनमा यिनै विधिहरूको अपवाद भने नभएका होइनन्। अपवाद पनि छन्, तर अपवादले कहिले पनि वास्तविकतालाई व्याख्या गर्न सक्दैन। 

विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका विद्यार्थी संगठनको सान्दर्भिकतामा प्रश्न उठ्नु स्वाभाविक हो किनभने अब विद्यार्थी संगठनसँग कुनै आन्दोलन छैन, शैक्षीक मुद्दामा कुनै एजेण्डा छैन। एजेण्डा र आन्दोलन नभएको अवस्थामा विद्यार्थी संगठन नचाहने मानिसहरू देखा पर्ने नै भए। 

मूलभूत समस्याहरू त यिनै नै हुन्। भन्ने गरिन्छ कि - समस्याको पहिचान नै आधा समाधान प्राप्त गर्नु हो। सबैभन्दा मुख्य कुरा हामीले स्ववियुको गुमेको स्व पुनः प्राप्त गर्न सक्नु पर्छ। ' स्व ' माने स्वतन्त्र पाएपछि मात्र विद्यार्थी संगठनहरूले गुमेको स्व प्राप्त गर्न सक्छन्। कुनै समय माउ पार्टीहरू नै लोकतान्त्रिक गणतन्त्रको मुद्दामा आनाकानी गरिरहेको वेलामा विद्यार्थी संगठनहरूले नै लोकतन्त्र र गणतन्त्रको लागि आव्हान गरेका थिए। त्यसैले सञ्चालित मात्र हुने की स्वचालित पनि हुने भन्ने प्रश्नले नै विद्यार्थी संगठनहरूको साख र सान्दर्भिकता जोगाउन सक्छ। हराएका वा हराईएका शैक्षिक - सामाजिक मुद्दाहरू प्रमुखतासाथ फेरि उठाएर प्रगतिशील सोच विचारले त्यसलाई गतिशील बनाउँदै लैजाने क्रमले नै विद्यार्थी संगठनहरू अगाडिको बाटोमा हिड्न सक्छ । 

समाजको दृष्टिकोण र बाटो कस्ताे हुने भन्ने कुरा शिक्षामा भर पर्छ। हामीले बुझ्नै पर्ने कुरा के हो भने कानुन निर्माण गरेर, त्यसलाई कडाइका साथ लागू गर्दैमा अहिलेको व्यवस्था बलियाे हुने हैन, समग्र व्यवस्थालाई सफल तुल्याउन शैक्षीक व्यवस्था नै सफल हुनुपर्छ। रसेलका अनुसार, यदि लोकतन्त्र असफलताको बाटोतिर जाँदैछ भने शैक्षिक व्यवस्था कहीँ न कहीँ असफल भएको हुनुपर्दछ। विद्यार्थी संगठनहरू मूलतः शैक्षिक पक्ष विषयक कुराहरूमा बोल्ने र बाटो देखाउने कार्यमा जोडिएका लागेका हुन्छ्न्। यस अर्थमा, उनीहरूमाथि यो समग्र समाज र राजनीति व्यवस्थाको ठूलो कार्यभार सुम्पिएको छ। आशा गरौं, उनीहरूको अहिलेको दिशाहीनताबाट माथि उठ्ने छन् र कार्यभार पुरा गर्ने छन्। 

प्रतिकृया दिनुहोस्