हिमचितुवाले प्रशिक्षणका क्रममा आफ्नो सामाजिक सञ्जालमा प्रतिस्पर्धीले के–कति खेल खेलेको छ वा जित हासिल गरेको छ भन्दा पनि उसको कमजोरी पत्ता लगाई मेहेनतका साथ विगतका खेलको कमजोरीलाई दोहोरिन नदिई रिङमा उत्रने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जस्तोसुकै प्रतिस्पर्धी भए पनि खेलमा कहिले पनि आत्मसमर्पण गरी झुक्दिनँ । मेरो लक्ष्य भनेको खेल जित्नु र नेपालको झण्डा फरफराउनु हो । मेरो खेल हेर्न उपस्थित नेपाली दर्शकको मलाई हौसला र प्रेरणा आवश्यक हुन्छ ।
हलमा उपस्थित नेपालीसहित अन्य दर्शकले गर्ने मायाले मलाई खेलमा जोश र थप ऊर्जा मिल्ने गर्दछ ।” युवा पुस्ताका चर्चित २२ वर्षीय बक्सर हिमचितुवाले सानै उमेरदेखि ऐतिहासिक सफता हासिल गर्दै आइरहनुभएको छ । उहाँले हालसम्म १७ अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतिस्पर्धा भिडन्त गर्दा १३ प्रतियोगितामा नकआउटद्वारा र एक खेल अङ्कका आधारमा ऐतिहासिक जीत निकाली अन्तर्राष्ट्रिय रेकर्ड कायम गरिसक्नुभएको छ । जसमा ‘हिट प्राफेसलन किक बक्सिङ’ १३ भिडन्तमा शतप्रतिशत सफलता हासिल गर्न सफल हुनुभएको छ भने चारपटक ‘हिट च्याम्पियनसिप’ को ‘बेल्ट च्याम्पियन’ भई अन्तर्राष्ट्रिय रेकर्डसमेत राखिसक्नुभएको छ । ‘केवान प्रोफेसनल किक बक्सिङ’ मा भने चार भिडन्तमध्ये दुईमा नकआउट गर्दै प्रतिस्पर्धा आफ्नो पक्षमा ल्याउनुभएको छ ।
खेल जीवनको यात्रामा हिमचितुवाका पिता देव घिमिरे मुख्य प्रशिक्षक रही आफ्नो छोरालाई निरन्तर पाँच वर्षदेखि प्रशिक्षण दिँदै आइरहनुभएको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी हिमचितुवा विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आइरहनुभएको छ । देव स्वयं लामो समयपूर्व क्युकोसिन फुल कन्ट्याक खेलका अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो ।
उहाँ सन् २००४ मा के वान खेल्ने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । उहाँले कोरियामा भाग लिई रेकर्ड कायम गर्नुभएको थियो । आफ्ना पिता देवको अलवा हाल हिमचितुवालाई दुई थाइल्याण्डका प्रशिक्षकले दैनिक आठ घण्टा प्रशिक्षण दिँदै आइरहेका छन् । हिमचितुवा हाल जापानको नागोया सहरस्थित सिमुरा डोजोबाट खेल्दै आइरहनुभएको छ ।रासस