काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । बिहिबार बिहान ६ बजेसम्म ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४-४ पालिकामा प्रमुख पद जितेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन् ।
यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन् ।अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ । जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।
लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन ।