काठमाडौं - ईन्डियन प्रिमियर लिग(आईपीएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले जित हात पारेको छ। मोहालीमा भएको खेलमा बेंग्लोरले घरेलु टोली पन्जाब किंग्सलाई २४ रनले पराजित गरेको हो ।
बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाबले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ५० रन मात्र बनाउन सक्यो ।
पन्जाबका लागि ओपनर प्रसिमरन सिंहले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए ।
जितेश शर्माले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । हरप्रित सिंह र हरप्रित ब्रारले समान १३/१३ रन बनाए ।
बेंग्लोरका लागि मोहम्मद सिराजले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए । हर्षल पटेल र वाईन पार्निलले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो ।
बेंग्लोरका लागि आजको खेलमा कप्तानको भुमिकामा रहेका विराट कोहली र नियमित कप्तानको भुमिकामा रहेका फाफ डु प्लेसिसले अर्धशतकीय ईनिङ खेले ।
फाफले ५६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ८४ रन बनाए । कप्तान कोहलीले ४७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाए ।
पहिलो विकेटका लागि फाफ र कोहलीले ९७ बलमा १ सय ३७ रनको सानदार साझेदारी गरेका थिए ।
ग्लेन म्याक्सवेल शुन्य रनमा आउट भए । दिनेश कार्तिक र महिपाल लुम्रोले समान ७/७ रन बनाए ।
पन्जाबका लागि हरप्रित ब्रारले २ तथा नेथन एलिस र अर्शदिप सिंहले समान १/१ विकेट लिए ।
छैटौं खेलमा तेस्रो जित हात पारेको बेंग्लोर ६ अंकका साथ १० टोली सहभागी प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ ।
छैटौं खेलमा तेस्रो हारका साथ पन्जाब भने सातौं स्थानमा रहेको छ ।