काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए ।
प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका छौं । उहाँले कोरोनाका कारण परिवारबाट टाढा रहनुपरेकोमा कठिनाई भएको बताउनुभएको छ । काम गर्ने इच्छा हुँदाहुँदै पनि पद छोड्नुपरेको अवस्था उहाँले लेख्नुभएको छ । यसबारे हामीले अहिले केहि निर्णय गरेका छैनौं,’ अध्यक्ष चन्दले भने ।
चन्दले ओमान भ्रमणपछि प्रशिक्षकले पद छाड्ने जानकारी दिएको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग -२ को खेलका लागि ओमानमा छ । टोलीले विहीबार ओमान पुगेर प्रशिक्षण पनि गरिसकेको छ ।
ह्वाटमोरले पछिल्लो समय परिवारबाट टाढा बस्नुपर्दा केहि समस्या रहेको बताएको क्यान निकट स्रोतले जानकारी दियो । उनको राजीनामाले भने ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ ।
ह्वाटमोर ८ महिनाअघि मात्र नेपाल आएका थिए । उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो । उक्त सिरिजमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि ह्वाटमोरबाट निकै आशा गरिएको थियो । ह्वाटमोरले आफ्नो सम्झौता अवधिको तीन महिना बाँकी रहँदा नै पद छाड्ने निर्णय लिएका हुन् ।