×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धरान उपमहानगरपालिकाद्वारा २ अर्ब २० करोडको बजेट सार्वजनिक

धरान उपमहानगरपालिकाद्वारा २ अर्ब २० करोडको बजेट सार्वजनिक

धरान - धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्षका लागि कुल रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरेका हुन्।

बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ।

बजेट विनियोजनतर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा सर्वाधिक रु ६६ करोड ९४ लाख छुट्याइएको छ। त्यसैगरी, शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु छ करोड ९९ लाख ९५ हजार र सामाजिक विकासतर्फ रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ।

अन्य क्षेत्रहरूमा आर्थिक विकासतर्फ रु एक करोड २९ लाख, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ रु १५ लाख, राजस्व परिचालनतर्फ रु ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु पाँच करोड पाँच लाख विनियोजन गरिएको छ। चालु आर्थिक वर्षका लागि धरानका २० वटा वडाका लागि रु २१ करोड विनियोजन गरिएको छ।

नगर कार्यपालिकातर्फ नि:सर्त विनियोजनमा रु एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु एक करोड ८२ लाख र विशेष अनुदानबाट रु पाँच करोड ४३ लाख विनियोजन गरिएको छ। उपप्रमुख बेघाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिइएको बताए।

प्रतिकृया दिनुहोस्