नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ११ बजे महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्री बाहेकका सबै नेतालाई बोलाइएको छ ।
यसअघि मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्र रहेको स्थायी कमिटीको बैठकले विहीबार एकतापूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णयसमेत गरेको थियो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विहीबार बस्ने बैठकमा तत्कालीन सबै केन्द्रीय सदस्यलाई डाकिने बताएका छन् ।
जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको थियो ।
मंगलबार स्थायी कमिटी बैठकले गरेको निर्णयबारे आज बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने बताइएको छ ।
सर्वोच्च अदालतका आदेशहरू, संसद विघटनका मुद्दा र पार्टीलाई एकतावद्ध बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू हुनसक्ने एक नेताले जनाएका छन् ।
ओली पक्षले जेठ २ मा फर्कने निर्णय गरे पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका नेताहरूले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडानबाट पछि हटेको छैन ।
संसद विघटन गरेकोमा सार्वजनिक रूपमा माफी मागेर निर्णय फिर्ता नलिएसम्म हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षका नेताहरूले बताउँदै आएका छन् ।