काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा आफूले दिएको अभिव्यक्ति विवादमा तानिएपछि क्षमा मागेका छन् । उनले गत मंसिर २८ गते फेसबुक स्टाटसमा विरोधीहरुलाई उधृत गर्दै ‘चमारे’ शब्दको प्रयोग गरेका थिए ।
त्यसबारे दलित समुदायका सरोकारवालाले आपत्ति जनाएका थिए भने राष्ट्रिय दलित आयोगले पनि आपत्ति जनाएको थियो । त्यसपछि मेयर साम्पाङले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई दुखी बनाएको भन्दै क्षमा मागेका हुन् ।
‘मिति २०७९र०८र२९ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्याउने नियतवश सो स्टाटस पोष्ट नगरेको जानकारी गराउँदछु ।’