×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जसपाले निकालेका चारै प्रदेश सांसद अदालत जाने

जसपाले निकालेका चारै प्रदेश सांसद अदालत जाने

काठमाडौं - लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारमा जाने भएका छन्।

पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै  त्यसविरूद्ध आजै सर्वोच्च अदालतमा जाने जसपा नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले बताए।

प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको र सोही अनुरूप चार जना सांसदलाई पदमुक्त गरिएको उल्लेख  छ।

जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका कुनै पनि प्रदेश सभा सदस्यलाई कारबाही नगरिएको भन्ने पत्र लुम्बिनी प्रदेश सभा सचिवालयलाई पठाएको दाबी गरेका थिए।

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपाको केन्द्रीय कमिटीको माइन्युटसहितको सूचना लुम्बिनी प्रदेश सभा सचिवालयमा पेश भएकाले त्यसैका आधारमा पदमुक्त गरिएको बताएका छन्।

´हामी कहाँ जसपाको केन्द्रीय कमिटीको माइन्युटको प्रतिलिपी पेश भएको छ, कारबाही भएको छैन भन्ने महन्थ ठाकुरजीको पत्र पाएका छैनौं। त्यो मिडियाका लागि स्टन्टमात्रै होला,´ पुनले भने।

वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका पाण्डेयसहित विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाइएको थियो।

प्रतिकृया दिनुहोस्