×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी प्रदेशका नेताको आक्रोश- पार्टीमा चुल्होवाद हाबी भयो!

माओवादी प्रदेशका नेताको आक्रोश- पार्टीमा चुल्होवाद हाबी भयो!

काठमाडौं-पार्टी केन्द्रमा 'आलोचनारहित' अवस्था सिर्जना गरेर शक्तिशाली बनेका प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल दलको तल्लो कमिटीमा भने तीव्र आलोचनाको निशानामा पर्न थालेका छन्।

बिहीबार विराटनगरमा सुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीको पूर्ण बैठकमा अध्यक्ष दाहालसहित केन्द्रीय नेताहरूको कडा आलोचना भएको छ। मुख्य नेतृत्वको निरन्तरको गल्तीमा केन्द्रीय समितिका नेताहरूले सधैं समर्थन जनाउँदा पार्टी लगातार कमजोर भएको भन्दै प्रदेशका नेताहरूले चर्को असन्तोष प्रकट गरेका हुन्।

बैठकमा बोल्ने अधिकांश प्रदेश कमिटीका नेताहरूले पार्टीभित्र नातावाद र चुल्होवाद हाबी भएको भन्दै व्यक्तिवादी प्रवृत्ति पनि चरम रूपमा देखापरेको बताएका थिए। यस्तो अराजकता तत्काल अन्त्य गर्नुपर्ने माग उनीहरूले गरेका थिए। बैठकमा सहभागी नेताहरूका अनुसार बहुसंख्यक वक्ताहरूले प्रचण्ड र केन्द्रीय नेताहरूको कार्यशैली नफेरे पार्टीको औचित्य सकिने चेतावनी दिएका थिए। 

बैठकमा प्रदेश कमिटीका सदस्य तथा जिल्लाका इन्चार्जहरूले बोलेका थिए।

सुनसरीका ओके दाहाल र चोत्लुङ लिम्बू,  झापाका राजु आचार्य, वाइसिएलका कर्मा पुलामी, मोरङका तिलक राई र गरिमा भट्टराई, उदयपुरका भीमबहादुर अधिकारी, प्रदेशका नेताहरू उर्मिला तामाङ, जीवन राई लगायतले बोलेका थिए। उनीहरूले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको तीव्र आलोचना गरेका थिए।

पार्टीको राजनीतिक प्रतिस्पर्धा र सहकार्य कोसँग भन्ने टुंगो नभएको भन्दै उनीहरूले आलोचना गरेका थिए।

'पार्टी भनेको सामूहिकतामा चल्ने संगठन हो। अध्यक्ष प्रचण्डले ल्याउने जस्तोसुकै प्रस्तावमा समर्थन जनाउने केन्द्रीय सदस्यहरूले आजको अवस्थाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन?,' प्रदेश कमिटीको बैठकमा बोल्ने नेताहरूले भने, 'सुरूदेखि नै प्रचण्डको कुरामा अन्धसमर्थन जनाउन बन्द गरेर छलफलको संस्कृति बसालेको भए पार्टी आजको अवस्थामा आइपुग्थेन।'

'चुनाव लड्ने बेलामा कांग्रेससँग मिलेर लड्ने, सरकार बनाउने बेलामा एमालेसँग मिल्ने अवस्था कसरी आयो?,' वक्ताहरूले प्रश्न गरेका थिए, 'हाम्रो संघर्ष कोसित हो, सहकार्य कोसित हो भनेर कसरी छुट्याउने?' 

पार्टीभित्र नातावाद र चुल्होवाद मौलाएकामा पनि प्रदेश सदस्यहरूको ठूलो आक्रोश थियो। नेता र तिनका परिवारभित्रका सदस्यले लगातार अवसर पाउने विषयलाई नेताहरूले 'चुल्होवाद' भनेर अर्थ्याएका हुन्।  

'चुनाव आयो, उम्मेदवार छानिए। उनीहरूको नाम छान्ने विधि र प्रक्रिया के थियो? मन्त्रीहरू छान्ने विधि के हो? प्रदेश सरकारको मन्त्री कुन विधि र मापदण्डको आधारमा छानियो? अरू नियुक्ति र अवसरमा जाने मापदण्ड के हो? नेताको चाकरी गर्नुपर्ने कि आफन्त हुनुपर्ने?,' नेताहरुले सोधेका थिए, 'विधि निर्माण गरेर कमिटीगत रूपमा छलफल र निर्णय गराएको भए अहिलेको जस्तो अराजकता हुन्थ्यो?'

प्रदेश १ मा प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई मन्त्री बनाएकोमा तीव्र असन्तोष छ।

पार्टीका उपमहासचिव जनार्दन शर्मा, सचिव राम काकी, अनुशासन आयोग अध्यक्ष टंक राई, लेखा आयोग अध्यक्ष पेशल खतिवडा लगायतका केन्द्रीय नेताहरूको उपस्थितिमा भएको दुई दिने बैठकको पहिलो दिन रिपोर्टिङ गर्नेहरूले ठूला नेताले पार्टी बिगारेको आरोप पनि लगाएका थिए। 

'हिजोदेखि दुःख गरेर पार्टीमा खटिएकाहरू तल अझै पनि दुःख नै गरिरहेका छन्। नेतृत्वको सम्मानका लागि उत्तिकै समर्पित छन् तर नेतृत्व तह के गर्दैछ?,' वक्ताहरूको प्रश्न थियो, 'नेताहरू नातावाद लाद्ने, नातावादभन्दा पनि चुल्होवाद लाद्न उद्यत छन्। पार्टी र आन्दोलन कमजोर हुने कारण यही हो।'

बैठकमा बोल्ने नेताहरूले महाधिवेशनको म्यान्डेटविपरीत केन्द्रीय कमिटी विस्तार भएको, कमिटी प्रणालीभन्दा व्यक्तिगत निर्णय हाबी भएको भन्दै आलोचनासमेत गरेका थिए।

'महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन अनुमति दिएको थियो,' बैठकमा बोल्ने नेताहरूले भनेका थिए, 'अहिले ५८८ (केन्द्रीय सदस्य ३८६ र वैकल्पिक केन्द्रीय सदस्य २०२) पुगिसकेका छन्। पार्टीको आकार घटेको घट्यै हुने अनि नेताको संख्या बढेको बढ्यै हुने अवस्था संगठनात्मक अराजकता हो। यो तत्काल अन्त्य हुनुपर्छ।'

पार्टीमा धेरै जना पदाधिकारी भए पनि अध्यक्ष एक्लै सक्रिय देखिएका बारे पनि बैठकका सहभागीले आवाज उठाएका छन्।

'हाम्रो पार्टीको पदाधिकारी टिम जम्बो छ। यसको अर्थ कार्य विभाजन गरेर काम होओस् भन्ने हो,' सहभागीहरूको भनाइ थियो, 'तर अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगको बैठकमै व्यस्त! आज ओलीसँग बैठक, भोलि ओलीसँग बैठक भएको सुनिन्छ। पार्टीका अरू पदाधिकारी बेकामे हुन्?' 

बैठकको पहिलो दिन बिहीबार ३० जनाले आफ्नो विचार राखेको र शुक्रबार २५ जनाले आफ्नो विचार राख्ने नेताहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्