काठमाडौं- पार्टीबाट ६ महिनाका लागि निलम्बनमा परेका नेता घनश्याम भुसालले केपी ओलीले पार्टी गौरवको चीरहरण गरेको आरोप लगाएका छन् ।
उनले ओलीको विर्सजनवादी गतिविधिलाई पराजित गरिछाड्ने दाबी पनि गरेका छन् ।
कारवाहीमा परेपछि बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भुसालले पार्टी अध्यक्ष भएर ओलीले गरेको बर्बादीका लागि सबैसँग आफूले माफी माग्ने उल्लेख गरेका हुन् ।
‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैँले कबुल गरेको जीवन दर्शन हो । एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ,’ भुसालले लेखेका छन्, ‘उनका लागि संसारमा या त चाकर छन् या शत्रु । उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन् । हामीले सामना गरौँला र गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन्, त्यो अपूरणीय छ ।’
गुटगत क्रियाकलापमा लागेर पार्टी हितविपरीतको काम गरेको भन्दै एमाले अध्यक्ष ओलीले भुसाल र अर्का नेता सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु,’ भुसालले लेखेका छन् ।