काठमाडौं - पद्मकन्या बहुमुखी क्याम्पस(पिके)मा स्वतन्त्र विद्यार्थी यूनियनको चुनावबारे अन्योलता छाएको छ । पिकेमा विभिन्न विद्यार्थी संघसंगठनले लगाएको ताला त्यहाँ अध्ययनरत विद्यार्थीहरुले फुटाएर छन् ।
चैत ५ गते हुन लागेको स्ववियू चुनाव रोक्ने मनसायले अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले बुधबार क्याम्पसमा तालाबन्दी गरेका थिए ।
तर, उक्त विद्यार्थी संघ/संगठनहरुले लगाएको ताला शुक्रबार बिहान विद्यार्थीहरुले तोडीदिएका छन् । साथै, विद्यार्थीहरुको क्याम्पसमा अराजक गतिबिधि नगर्न पनि आग्रह गरेका छन् ।
विद्यार्थीहरुले अनेक बाहना बनाएर स्ववियू निर्वाचनलाई विथोल्न नखोज्न पनि संघ/संगठनलाई चेतावनी दिएका छन् ।
क्याम्पसमा लगाएको ताला तोड्ने बेलामा विद्यार्थीहरुले ‘क्याम्पसमा गुन्डागर्दी गर्न पाइदैंन, दादागिरिसँग हामी विद्यार्थीहरु डराउँदैनौं, अनेरास्ववियु मुर्दावाद, अखिल क्रान्तिकारी मुर्दावाद, वी वान्ट इलेक्सन’ लगायतका नारा लगाएका थिए ।
त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा यहीँ चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।