काठमाडौँ - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर गएका हुन् । यद्यपि, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
गत भदौ २३ गते भएको आन्दोलनमा दमन गरेको घटनामा ज्यान मुद्दामा कारबाहीको माग गर्दै गुरुङले जाहेरी दिएका थिए । सो विषयमा हाल सरकारले उच्चस्तरीय जाँचबुझ आयोगमार्फत छानबिन गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता नगरिएको एक प्रहरी अधिकारीले बताए । आजै जेनजी अगुवाहरूले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन् ।