काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ वटा सडकको शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
‘काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन्’, उनले प्रतिप्रश्न गरे, ‘मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? हटाउ न त समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न !’
प्रधानमन्त्रीको यो चुनौती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित थियो । प्रधानमन्त्री ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप भएन भने ताजा जनादेशमा जानुपर्ने बताएका छन् । ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उनकाे भनाइ छ ।