काठमाडौं-आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आईतबार टियु मैदानमा नेपाल तथा युएईबीच खेल हुदैछ ।
टियु मैदानमा युएईविरुद्ध नेपालको विगत बलियो रहेको छ ।
टियुमा भएको तीन खेलमा नेपालले २ खेलमा जित हात पार्दा १ खेलमा भने युएई विजयी भएको छ । दुईदेसिय सिरिजका क्रममा नेपाल र युएईबीच तीन खेल भएको थियो । तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो ।
नेपाल र युएईबीच टियु मैदानमा पहिलो एकदिवसीय अन्तराष्ट्रिय २०२२ मा भएको थियो । गत बर्ष नेपालमा आयोजना भएको नेपाल र युएईबीचको सिरिजको पहिलो खेलमा भएको थियो । पहिलो खेल नोभेम्बर १४ २०२२ मा भएको थियो । सो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।
सो खेलमा टस जितेको नेपालले पहिला बलिङ गरेको थियो । युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । युएईका लागि रोहन मुस्ताफाले ५३ तथा मुहम्मद वासिमले ४१ रन बनाएका थिए ।
२ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रज मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए । यूएईका लागि आयान खानले ४ तथा वासिल हमिदले २ विकेट लिएका थिए ।
सोही सिरिजको दोस्रो खेलमा नेपाल र युएईबीच टियुमा दोस्रो खेल भएको थियो । नोभेम्बर १६ २०२२ मा भएको यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । टस हारेर पहिले बलिङ गरेको नेपालले युएईलाई ४३ ओभर २ बलमा अलआउट गर्दै १ सय ९१ रन मात्र बनाउन दियो । नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले समान ३/३ विकेट लिए । युएईका लागि मुहम्मद वासिमले ५० तथा अलिशान शरफुले ३५ रन बनाए ।
१ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलशन झाले ३७ तथा कुशल भुर्तेलले ३५ रन बनाए । यूएईका लागि रोहन मुस्ताफाले ३ तथा हर्जत बिलालले २ विकेट लिए ।
नेपाल र युएईबीच टियुमा तेस्रो तथा पछिल्लो खेल सोही सिरिजको अन्तिम खेलमा भएको थियो । सो खेल नेपालले ६ विकेटले जितेको थियो । नोभेम्बर १८ २०२२ मा भएको खेलमा टस जितेर नेपालले पहिला बलिङ गरेको थियो । नेपालले यूएईलाई ५० ओभरमा ९ विकेट लिएर १ सय ७६ रन मात्र बनाउन दियो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । यूएईका लागि आयान खानले ५४ तथा अलिशान शरफुले ३३ रन बनाए ।
१ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ८८ तथा ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । यूएईका लागि आयान खान तथा हर्जत बिलालले समान १/१ विकेट लिए ।