काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादसम्बन्धी मुद्दा आज (बुधबार)देखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । अहिले इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।
वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् छन् ।
यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश अस्वीकार गरिए पनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।
संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको हो ।
लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।