काठमाडौं-संविधानको मर्म र भावनाप्रति कृतसंकल्पित नेता रामचन्द्र पौडेललाई राष्ट्रपति हुने अवसर प्राप्त भयो। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामा उहाँ पूर्ण प्रतिबद्ध हुनुहुन्छ। कतिसम्म भने हरेक व्यक्तिको उपासनाको हक हनन नहोस् भन्ने उहाँको प्रतिबद्धता छ। यसअर्थमा उहाँ राष्ट्रपतिका लागि समकालीन राजनीतिको सबैभन्दा उपयुक्त व्यक्ति हो।
यदि पुस १० को राजनीतिले निरन्तरता पाएको भए सायद अहिले पराजित भएका (सुवास नेम्वाङ) राष्ट्रपति बन्नुहुन्थ्यो होला। राष्ट्रपति निर्वाचनमा सफलता प्राप्त नभएपछि उहाँ क्रियाशील राजनीतिमा नै फिर्ता हुने होला। उहाँ २०६२/६३ को आन्दोलनपछि खोजी गर्दा पाइएको असाध्यै असल र विनयशील पात्र हुनुहुन्छ। तारानाथ रानाभाटको सट्टामा उहाँ सभामुख बन्ने बाटो बन्यो। सभामुख, संविधानसभाको अध्यक्ष रहँदै संविधान निर्माणसम्म उहाँ प्रतिबद्ध देखिनुभयो।
यो पृष्ठभूमिमा दुईमध्ये जो भए पनि मुलुकले राम्रो राष्ट्रपति पाउँथ्यो। साबिकको गठबन्धन कायम रहेको भए, दुइटा कम्युनिस्ट पार्टीको बलमा, अहिले उहाँ तर उहाँको विनयशीलता भावमा होइन, विजेताको भावमा राष्ट्रपति बन्नुहुन्थ्यो।
उहाँले आफ्नो विवेकभन्दा त्यो विजेताको भावलाई प्रतिनिधित्व गर्नुपर्ने बाध्यता बन्थ्यो होला। तर सुवासजी भन्दा रामचन्द्र पौडेल अलि बढी अनुभवी हुनुहुन्छ। कांग्रेसका लागि सहज राजनीति बन्यो भन्ने अर्थमा ठीक भयो भन्न खोजेको होइन।