काठमाडौँ- निर्वाचन आयोगले निर्माण गरेको प्रेस अफिसु प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामाग्रीको अनुगमन गर्न आयोगले निर्माण गरेको प्रेस अफिसु प्रति महासंघले आज शुक्रवार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो ।
आयोगले चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेको छ । यस प्रकारको संयन्त्र निर्माण गरेर आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्ने खोजेको महासङ्घले ठहर गरेको विज्ञप्तिमा भनिएको छ । सञ्चारमाध्यमा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र आयोग आफैँले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुङ्शतन्त्रमा मात्र हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक व्यवस्थामा यो सुहाउँदो हुन नसक्ने बताउँदै आयोगले आफ्नो निर्णय तत्काल सच्याउनुपर्ने माग पनि महासंघको छ । साथै निर्वाचन आचारसंहिताअन्तर्गत प्रेससँग सम्बन्धित विषय महासंघलगायत प्रेससँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर निर्माण गर्न महासङ्घले गरेको आग्रहलाई समेत आयोगले बेवास्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चुनावको सबै प्रक्रियाका विषयमा सञ्चारमाध्यमको परिचयपत्र वा पत्रकार महासङ्घको परिचयपत्र वा सरकारी निकायबाट जारी पत्रकार परिचयपत्रका आधारमा निर्बाध समाचार सङ्कलन, प्रकाशन तथा प्रसारणको वातावरण बनाउन पनि महासङ्घको आग्रह छ । आयोगले आफ्नो निर्णय नसच्याए नेपाली सञ्चार क्षेत्रले यसको प्रतिवाद र अवज्ञा गर्नेसमेत महासंघले चेतावनी दिएको छ ।